काठमाडौँ, १२ चैत ।सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन स्थानीय तह र बैंकसँग सहकार्य गरिने भएको छ । सरकारले गत मङ्सिर ६ गते घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सम्पूर्ण श्रमिक, कर्मचारीलाई समावेश गराउनका लागि कोषले यस्तो गर्न लागेको हो ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले आज आयोजना गरेको सामाजिक सुरक्षा कोषसम्बन्धी अन्तरक्रियामा कोषका निर्देशक शंकर नेपालले सो विषयमा जानकारी दिनुभएको हो । कोषमा औपचारिक क्षेत्रका १० लाख कामदार र अनौपचारिक क्षेत्रमा रहेका ६० लाख जनतालाई सेवा पु¥याउन विभिन्न बैंकसँग समन्वय गरेर एकीकृत रुपमा काम गर्ने तयारी रहेको निर्देशक नेपालले बताए ।

गाउँगाउँमा कोषको कार्यालय राख्न नसकिने र यसले ब्ययभार बढ्ने भएकाले बैंक र स्थानीय तह उपयुक्त हुने उनको निष्कर्ष छ । उनले भने, “नेपालमा आर्थिक क्रियाकलापमा सक्रिय ६२ प्रतिशत जनता रहेका र यिनिहरुको जीवन सुरक्षा गर्दै भविष्य सुनिश्चित गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कोष ल्याइएको हो ।”

श्रम ऐन र नियमावलीमार्फत नो वर्क नो पे तथा हायर एन्ड फायर लागू भएका कारण श्रमिकको सामाजिक सुरक्षाका लागि सामाजिक सुरक्षा ऐन आएको पनि उनले बबताए । कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जनताको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि सामाजिक सुरक्षा कोषले पनि अपरिहार्य भूमिका निभाउने भएकाले यसलाई प्रभावकारी कार्यान्वयन गराउन नागरिक समाज र ट्रेड युनियनले नजिकबाट हुनुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका निर्देशक प्रकाश शर्माले नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषबीच हुने ओभरल्याप र डुप्लिकेसन हटाउँदै जानुपर्ने विचार व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार