सुरेश श्रेष्ठ , दाङ २१ फागुन । पाँच नम्बर प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले विकासका लागि एकता आवश्यक रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँमा रहेको गौरीतालमा नवनिर्मित शिव मन्दिरको उद्घाटन गर्दै प्रदेशसभाका लेखा समितिका सभापतिसमेत रहेका चौधरीले विकासका सवालमा कसैले पनि राजनीति गर्न नहुने बताए । ‘विकासका लागि एकता आवश्यक छ’ नेपाली काँग्रेसका नेता चौधरीले भने ‘निर्वाचनका क्रममा राजनीतिका कुरा भएपनि विकासको सवालमा कसैले कतै राजनीति गर्नुहुँदैन ।’ विकास एकैपटक सम्भव नभएको बताएका चौधरीले तुलसीपुर बेलटाकुरा सडकखण्ड निर्माणकै क्रममा काम रोकिएको हुँदा त्यसमा सबैले एकता प्रदर्शन गर्न आवश्यक रहेको बताए ।

धर्मलाई विकाससँग जोड्नसके धेरै सकारात्मक परिणामहरु निस्कने तर्क गरेका सांसद चौधरीले धर्म सबैभन्दा शक्तिवान रहेको उल्लेख गरे । ‘धर्म राजनीति भन्दापनि धेरै माथि छ, संविधानभन्दा पनि धेरै माथि छ’ सांसद चौधरीले भने ‘कानुन निर्माण नहुँदै समाज धर्मबाट निर्देशित थियो र आजपनि छ ।’ धर्मकै कारण राम्रो गरे पुन्य मिल्ने र गलत गरे पाप लाग्ने भन्ने विश्वासले समाज चल्दै आएको उनले बताए । सेना, पुलिस नहुँदा धर्मले नै समाज निदृष्ट गरेको हुँदा आज पनि त्यही विश्वासका साथ एकतावद्ध भएर धर्मलाई विकासमा जोड्नुपर्ने उनको कथन थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद चौधरीले गौरीतालको विकासको लागि गुरुयोजना निर्माण गरेर त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार लामिछानेले जिल्लाको सबैभन्दा ठूलो प्राकृतिक ताल गौरी तालको विकासका लागि गुरुयोजना निर्माण गरेर त्यही अनुरुप अगाडि बढ्नुपर्ने बताए । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद गेहेन्द्र गिरीले ०६२÷६३ को जनआन्दोलनको उद्देश्य धर्म निरपेक्षता नभएको हुँदा हिन्दू राष्ट्र नेपाललाई गलत तरिकाले धर्म निरपेक्ष बनाइएको बताए । उनले तीव्र रुपमा भइरहेको धर्मान्तरणबाट सबै हिन्दू सजग रहनुपर्ने धारणा राखे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार