काठमाडौं, ६ मंसिर । चेल्सीका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बाले खेल जगतबाट सन्यास लिएका छन् ।ड्रोग्बाले आफनो २० वर्षे खेलको करियरको अन्त्य गर्ने घोषणा गरेका हुन् ।चेल्सीमा सबैभन्दा बढि समय बिताएका र पछिल्लो डेढ वर्ष अमेरिकाको फिनिक्स राइजिङ मा रहेका उनले सन्यास लिए पनि आइभरी कोस्टका खेलाडी ड्रोग्बाले अब युवा पिढीलाई राम्रो बनाउन योगदान दिने बताए ।

उनले भने ‘२० वर्षपछि खेलाडी करियर अन्त्य गर्ने निर्णय गरेको छु । अब युवा प्रतिभाका विकासमा सहयोग गर्नेछु,’ । २३ वर्षको उमेरसम्म कुनै पनि देशको शीर्ष डिभिजन लिग नखेलेका ड्रोग्बा सन् २००३ मा फ्रेन्च क्लब मार्सेमा आबद्ध भएका थिए । उनी २४ मिलियन पाउण्डमा चेल्सीमा आबद्ध भएका थिए, जहाँ उनको करियरकै सबैभन्दा सम्झन लायक प्रदर्शन रह्यो । चेल्सीमा ड्रोग्बाले आठ वर्ष बिताए ।

आइभरी कोस्टका चर्चित खेलाडीको रुपमा रहेका उनले त्यसक्रममा चार वटा प्रिमियर लिग, चार वटा एफए कप, तीन वटा लिग कप र एउटा च्याम्पियन्स लिग समेत जिते । चेल्सीलाई इतिहासकै पहिलो च्याम्पियन्स लिग जिताउनका लागि ड्रोग्बाको भुमिका महत्वपूर्ण थियो । दुई पटक अफ्रिकन फुटबलर अफ द एयरको उपाधि पनि जितेका उनले आफनो देशका लागि १०५ खेलमा ६५ गोल गरेका छन् भने तीन पटकसम्म विश्वकपमा पुर्‍याउन सफल भए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार