लमजुङ, २९ कात्तिक। लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो ।

डेढ दशकअघि १० रोपनी जग्गामा सामूहिक चियाखेती शुरु गरिएको भुजुङमा अहिले गाउँ वरपर व्यक्तिगत र व्यावसायिकरुपमा चियाखेती हुन थोलेको छ । उन्युको झाडीमा समेत भुजुङका बासिन्दाले चियाखेती गरेका छन् । चियाखेती भुजुङ आउने पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । शुरुमा परीक्षणका लागि रोपिएका चिया अहिले विदेशबाट समेत माग हुन थालेपछि स्थानीय मख्ख परेका छन् ।

भुजुङगाउँ हाल क्व्होलासोंथर गाउँपालिका–४ मा पर्छ । साविकको भुजुङ गाउँका प्रत्यक वडाका स्थानीयले सामूहिकरूपमा चियाखेती गरेका हुन् । पहिले एक गाउँ एक गाविसका रूपमा चिनिएको भुजुङ गाउँमा घरबाससँगै चियाखेती पनि विस्तार भएपछि पर्यटक थप आकर्षित भएका छन् । गाउँ आउने पर्यटकले चिया लाने गरेको र विदेश पुगेर पनि पर्यटकले गाउँको चिया पठाउन अनुरोध गरेको घरबास सञ्चालक जुनी गुरुङले बताइन् । “भुजुङको चिया अहिले अमेरिका, बेलायत, हङकङ, बु्रनाइसम्म पुगेको छ । उनले भनिन्, विदेशका आफन्तलाई कोशेलीका रुपमा भुजुङको चिया पठाउने गरिएको छ ।”

डेढ दशकमा १० रोपनीबाट फैलिएरको चियाखेती यतिबेला २५० रोपनीमा फैलिएको छ । वडा सदस्य पित्रमान गुरुङका अनुसार ११ रोपनी क्षेत्रफल जग्गामा आठ हजार बिरुवा यसै वर्ष रोपिएको हो ।

समुद्री सतहदेखि एक हजार ६०० देखि एक हजार ७०० मिटरको उचाइको ठाउँमा गरिएको चिया पुस र माघबाहेक १५/१५ दिनको फरकमा टिप्ने गरिएको स्थानीयवासी बताउँछन् । अहिले गाउँमै प्रशोधन केन्द्र सञ्चालन गरिएकाले गाउँमै चियाको प्रशोधन हुने गरेको छ । भुजुङमा पछिल्लो समय चिया बगान हेर्न महिला समूह र विद्यार्थी आउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार