काठमाडौं,२७ कात्तिक । बलिउडका ठुला ठुला फिल्महरु अझ त्यसमा पनि खान नायकहरुको फिल्म रिलिज हुन लागेको छ भने त्यसले नेपाली सिनेमा क्षेत्रमा पनि ठुलै प्रभाव पार्ने गरेको छ । नेपाली सिनेमा क्षेत्रको बजार पहिलेको तुलनामा केही राम्रो देखिएपनि अझै पनि बलिउड फिल्महरुको रिलिज मितीकै आधारमा नेपाली फिल्महरुको रिलिज मिती तोकिने गरिन्छ ।

यतिबेला बलिउड फिल्म ठग्स अफ हिन्दुस्तान नेपालमा पनि रिलिज भईरहेको छ तर आमिरका फिल्महरुले नेपालमा जुन अनुपातमा प्रशंसा र कलेक्सन गथ्र्यो त्यस बराबरीमा छैन । बलिउड दर्शकहरुले मात्र होईन नेपाली दर्शकहरुले पनि अमिरको ठग्स अफ हिन्दुस्तानले राम्रैसंग ठगेको प्रतिक्रिया दिईरहेका छन् ।

फिल्मको वर्ड अफ माउथ नै नराम्रो गएपछि यसको फाईदा भने चंगा चेटले लिएको छ । आमिरको फिल्म रिलिज हुनु पुर्व चंगा चेट र मालिका रिलिज भए । आमिरको फिल्म चिप्लिएपछि फाईदा उठाएको छ चंगा चेटले । एकातिर आमिरको फिल्म उतातिर छक्का पञ्जा ३ र जय भोलेको प्रेशरले यी दुईहरु चेपिने अनुमान गरिएको थियो । तथापी चंगा चेटले भने दर्शकहरुको माया पाएको छ ।

डार्क कमेडी फिल्म हेर्ने दर्शकको संख्या दोस्रो साताबाट वृद्धि हुन थालेको हल सञ्चालकले बताएका छन् । गएको शुक्रवार र शनिबार फिल्म देशभर हाउसफुल रहेको निर्देशक दीपेन्द्र के। खनालले बताए । आमिरको फिल्मको कारण मल्टिप्लेक्सको व्यापारमा ओरालो लागेको थियो तर चंगा चेटले दर्शकको माया पाएसंगै शो पनि बढाएको छ ।

उता फिल्मको कलेक्सन र दर्शकको साथ सिंगल स्क्रिनमा पनि बढेको बितरक बताउँछन् । फिल्मले एक हप्तामा डेढ करोड ग्रस कलेक्सन गरेको खबर प्राप्त छ । फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । “गोजीमा दाम छैन” गीतका कारण चर्चामा रहेको फिल्ममा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, परमिता आरएल राणा, सुरक्षा पन्त, रबिन्द्र झालगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार