चितवन, २७ भदौ । गत वैशाखमा पूर्र्वी चितवनमा हावाहुरी र असिनाले नष्ट गरेको बालीको क्षतीपूर्ती र राहत कृषकले पाउन सकेका छैनन् ।

हावाहुरीले केरा, मौरी, तरकारी, मकै, कागती, धान लगायतका बालीमा ठूलो क्षति पुगेको थियो । तत्कालीन जिल्ला कृषि विकास कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार रु ४८ करोड एक लाख ११ हजार क्षति भएको थियो । त्यसमध्ये ४० करोड हाराहारी केरामा मात्र क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए । त्यसबाट ६ हजार ५८९ परिवार प्रत्यक्ष प्रभावित भएका थिए । श्रेष्ठका अनुसार बीमाले केही रकम दिएको भए पनि सरकारी तवरबाट कुनै राहतको बजेट आएको छैन । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले क्षतीपूर्ती र राहत नपाउँदा किसान निरास बनेको बताए ।

केरा लगाएकामध्ये केही किसानले बीमा गरेका थिए । बीमा कम्पनीले पनि विभिन्न वहानाबाजी गरेर दावी भुक्तानी ढिलो गरेको पीडित किसानले जनाएका छन् । केरा लगाएकामध्ये २९० स्थानको शिखर इन्सुरेन्स कम्पनीले बीमा गरेको थियो । करीब आठ करोडको बीमा भए पनि रु दुई करोड मात्र भुक्तानी भएको महतोले बताए ।

बीमा कम्पनीका बजार महाप्रबन्धक पुष्कर महतले आवश्यक कागजपत्र प्राप्त हुन नसक्दा ढिलाइ भएको बताए। हावाहुरीले बाली नष्ट भएसँगै प्रदेश नं तीनका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको नेतृत्वमा यस क्षेत्रका प्रदेश सांसद सहितको टोलीले सङ्घका कृषि मन्त्रीलाई भेट गरी राहत र क्षतिपूर्तीको माग गरेका थिए । हावाहुरीले कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा क्षति पु¥याएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार