काठमाडौं, ७ भदौ । माल्दीभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । जेल जीवन बिताइरहनु भएका ८३ वर्षीय गयुमको अवस्था थप बिग्रिदै गएको चिकित्सकहरूले जानकारी दिएका छन् ।

उनलाई राखिएकै ठाँउमा भेट्न गएको चिकित्सकहरूको टोलीले गयुमलाई विषेश उपचारको व्यवस्था गर्न सुझाव दिएको छ । एम्नेष्टी इन्टरनेशनलका थायीब इबु फैसलले सामाजिक सञ्जाल ट्वीटरमा ८३ वर्षीय वृद्ध पूर्वराष्ट्रपति गयुम धेरै बिरामी भएको लेख्नु भएको छ । चिकित्सकहरूको टोलीले उहाँलाई थप उपचार आवश्यक भएको सिफारिश गरेको पनि फैसलले ट्वीटमा उल्लेख गरेका छन् ।

चिकित्सकहरूको सिफारिश र एम्नेष्टीको आग्रहलाई माल्दीभ्सको सुधार विभागले भने अस्वीकार गर्दै आइरहेको समाचारमा जनाइएको छ । माल्दीभ्सको अदालतले १९ महीने जेल सजायको फैसला गरेकाले गयुम गत जुनदेखि काराबास जीवन भोगीरहेका छन् ।

आगामी निर्वाचनबाट पनि अर्को कार्यकालका लागि आफ्नो जितलाई सजिलो बनाउन वर्तमान राष्ट्रपति अब्दुल्ला यमिनको योजनाअनुसार अदालतले उनलाई जेल सजायको फैसला गरेको आरोप लागेको छ । गयुमसँगै तत्कालीन प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो ।

क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थिरता रहेको मानिने माल्दिभ्समा पाँच वर्षयता राजनीतिक सङ्कट बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार