कैलाली, २१ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थलगत भ्रमण गर्न आएको एक टोलीले आज प्रदेश नं ७ को सरकारसँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारी नेतृत्वको टोलीले प्रदेश नं ७ का मुख्यमन्त्री र मन्त्रीहरुसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा प्रदेशको भौतिक पूर्वाधार र जनशक्ति, प्रदेशको आव २०७५÷७६ को बजेट, कार्यक्रम र योजना, प्रदेश प्रहरी ऐन, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोगको गठनलगायतका विषयमा छलफल भएको थियो ।

संघीय, प्रादेशिक र स्थानीय सरकारबीचको सम्बन्ध, प्रदेश सरकार सञ्चालनमा आवश्यक पर्ने ऐन, कानून, नियम, निर्देशिका, कर्मचारी समायोजन, पदपूर्ति र प्रदेश निजामती सेवा ऐन सम्बन्धमा पनि छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

केन्द्र सरकारसँग आवश्यक समन्वय गरी प्रदेश सरकार सञ्चालनमा आएका अड्चन फुकाउँदै जनअपेक्षाअनुसार अगाडि बढ्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विशनसिं थापाले जानकारी दिनुभयो । प्रदेश सरकार सञ्चालनमा आवश्यक पर्ने ऐन, कानून, नियम, निर्देशिका यथाशीघ्र बनाई प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।
–––

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार