खोटाङ, २१ साउन । धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ ।

गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । हलेसी धार्मिकरुपमा पनि विश्वभर चर्चित छ । जसका कारण वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् । नेपालसँगै भारत, चीन, भुटान, जापान, अमेरिकालगायत विभिन्न मुलुकबाट विभिन्न धर्मावलम्बी हलेसी दर्शन तथा अवलोकन गर्न आउने गरेका छन् ।

हिन्दुधर्मावलम्बीले पूर्वको पशुपतिनाथ, बौद्धधर्मावलम्बीले दोश्रो लुम्बिनी र किराँतीले आदिम भूमि मान्ने हलेसी प्राकृतिक भू–बनोटको आधारमा पनि छुटाउनै नहुने एउटा ठाउँ हो । सडक नपुगेसम्म लामिडाँडा विमानस्थलको अर्को विकल्प नभएको हलेसीमा अहिले जयरामघाटस्थित दूधकोशी र हर्कपुरस्थित सुनकोशीमा पक्की पुल बनेपछि सहजरुपमा बस तथा जीपमा यात्रा गरेर आउन तथा जान सकिन्छ । कतिपय दर्शनार्थी तथा अवलोकनकर्ता सिधै हेलिकोप्टर चार्टर गरेर हलेसी आउने गरेका छन् ।

तीन ठूला प्राकृतिक गुफाको अवलोकन तथा दर्शन गर्न मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँबाट सात घण्टाको बस तथा जीप यात्रापछि हलेसी पुग्न सकिन्छ ।

हिन्दूधर्मको किम्वदन्तीअनुसार भष्मेश्वर नामक राक्षस पावर्ती पाउनका लागि हजारौँ वर्ष भगवान् विष्णुको तपस्या गर्छन् । त्यसपछि, बरदान दिने क्रममा भस्मेश्वरले शिवजीलाई मार्न पाउनुपर्ने वरदान माग्छ । सोही वरदानअनुसार शिव र पार्वतीलाई खेद्दै जाने क्रममा हलेसी आएपछि, शिवपार्वती गुफाभित्र पस्छ । भष्मेश्वर पनि त्यही पस्छ । तर, विष्णुले पुनः जाल रची भष्मेश्वरलाई नै भष्म बनाइदिएपछि, शिवपार्वती त्यही विराजमान भएको किम्वदन्ती रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार