चितवन १९ साउन। रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा निर्माण भएकाले धर्मधाममा पर्यटकको आकर्षण बढेको हो ।

मन्दिरमा अन्य जिल्लाका धार्मिक पर्यटकको पनि पनि भिड लाग्ने गरेको धर्मधामका अध्यक्ष श्याम बरालले जानकारी दिए । उनका अनुसार दैनिक कम्तिमा २०० देखि बढीमा ५०० सम्म धार्मिक पर्यटकहरु मन्दिर घुम्न आउँछन् ।

रत्ननगर नगरपालिका–११ जिरौनामा झण्डै रु सात करोडको लागतमा बनेको उक्त धर्मधाम गत फागुन ८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । विसं २०२४ मा यहाँ मन्दिर स्थापना भएको थियो । १५ कठ्ठा क्षेत्रफलमा रहेको धर्मधामको पुरानो मन्दिरको स्तरोन्नति गरी सुन्दर र आकर्षक बनाइएको छ ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्यस्थल चितवनको सौराहाबाट झण्डै नौ किलोमिटर टाढा पर्छ धर्मधाम । धर्मधामका अध्यक्ष श्याम बरालले दशकौँदेखिको मुठीदानले सपना साकार भएकामा खुशी व्यक्त गर्नुभयो । मन्दिरमा सोमबार र शनिबार भक्तजन र पर्यटकको भीड नै हुन्छ । साउनको सोमबार भने झन् बढी आउने गरेका छन् ।

धर्मधाम मन्दिर अत्याधुनिक नमूनाका साथै सुन्दर पनि छ । वृद्धाश्रम, यज्ञमण्डप, भोजनालय, उद्यानसहितको मनोरम दृष्यका साथै आकर्षक द्वार पनि मन्दिरबाट देख्न सकिन्छ । मन्दिर वरिपरि विभिन्न देवीदेवताका सुन्दर मूर्ति छन् । चितवनमा पाइने दुर्लभ एकसिंगे गैंडाको आकर्षक चित्र पनि यहाँ राखिएको छ ।

मन्दिरभित्र राधा र कृष्णको आकर्षक कलाशैलीका मूर्ति निर्माण गरिएको छ । आधुनिक तर परम्परागत रुपमा कुँदिएका झ्यालढोका, स्वर्णिम रङका भित्ता र कलात्मक टुँडालले धर्मधामको शोभा बढाएको छ । सुनको छानोझैं देखिने गजुरले झन् त्यसमा शोभा थपेको छ । कृष्णले बृन्दावनमा संगीसँग खेलेका दृष्य समेत कुँदिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार