जाजरकोट, १० असार । बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ ।

बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेतले बताइन् ।

चालु आर्थिक वर्षमा अदालतमा सम्बन्ध विच्छेदका ६० मुद्दा दर्ता भएको पाइएको छ  । महिला तथा बालबालिका कार्यालयमा बालविवाहका कारण कुटपिट, खान, लाउन नपाएकोलगायत घरेलु हिंसाका एक सय उजुरी दर्ता भएका छन्  ।

त्यस्तै प्रहरी र स्थानीय तहका न्यायिक समितिमा दुई सय उजुरी परेका छन् । बालविवाहका कारण आत्महत्या, कुटपिट, घर निकाला, खान लाउन नपाउने, पढाइमा बाधा, सम्बन्ध विच्छेद गर्न बाध्य हुनेलगायत घटना ह्वात्तै बढेको विभिन्न निकायमा परेको उजुरीले बताउँछन् ।

१५ वर्षमा विवाह गरेर १९, २० वर्षको उमेर नपुग्दै दुई सन्तान जन्माउने अनि सम्बन्ध विच्छेदका लागि अदालत पुग्नेको संख्या पनि बढ्दै गएको उपप्रमुख बस्नेतको भनाइ छ ।

बालविवाह जस्तो कुरीतिले जरो गाड्न थालेपछि यहाँका सबै स्थानीय तह बालविवाह न्यूनीकरणको अभियानमा लाग्न थालेका छन् । बालविवाह गर्ने, गराउनेलाई सामाजिक बहिष्कारसमेत गर्ने गरी अभियानमा जुटेको कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछायाँ शाहीले बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार