बुटवल, २५ जेठ । बुटवल उपमहानगरपालिकाले विद्यालय भर्ना भएका अतिविपन्न समुदायका बालबालिकालाई विद्यालय पोशाक उपलब्ध गराएको छ ।

नयाँ शैक्षिक सत्रसँगै अभियानका रुपमा भर्ना कार्यक्रम चलाएको उपमहानगरले विद्यार्थीलाई विद्यालयमा टिकाउने उद्देश्यस्वरुप पोशाक वितरण गरेको हो ।

पहिलो चरणमा बुटवलको मैनावगरस्थित मैनावगर आधारभूत विद्यालयमा विपन्न बालबालिकालाई बिहीबार पोशाक वितरण गरिएको छ । बालबालिकालाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गराउने, उनीहरुलाई सिकाउने र टिकाउने अभियानस्वरुप नै पोशाक वितरण गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।
त्यस विद्यालयका ५९ जना बालबालिकालाई प्रमुख सुवेदीको नेतृत्वमा पोशाक वितरण गरिएको थियो । अतिविपन्न बालबालिकाको पहिचान गरेर ती बालबालिका अध्ययन गर्ने विद्यालयमा आवश्यक बजेट उपलब्ध गराउने गरी उपमहानगरले योजना बनाएको थियो । सोही आधारमा मैनाबगरको उक्त विद्यालयका बालबालिकालाई रु ३८ हजार बराबरको पोशाक वितरण गरिएको हो ।

वडा कार्यालय, टोल विकास समिति, नागरिक अगुवा र समाजसेवीसमेत शिक्षासँग सरोकार राख्ने सबैलाई सहकार्यमा लिएर अभियान प्रभावकारी बनाउन निर्देशन जारी गरिएको उपप्रमुख गुमादेवी आचार्यले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार