काठमाडौँ, २४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटनलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मक अभिवृद्धिको खाँचो रहेको बताएका छन् । पर्यटन मन्त्रालयले आज चन्द्रागिरि हिल्समा आयोजना गरेको पर्यटन क्षेत्र प्रबुद्ध विज्ञ समूहको कार्यशाला तथा प्रथम बैठकलाई सम्बोधन गर्दै उनले पर्यटनमा उद्यमशीलताको विकास गरी मुलुकको समृद्धिसँग जोड्न जरुरी भएको बताए ।

मन्त्री अधिकारीले भने, “पर्यटन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मकरुपमा फड्को मार्न जरुरी छ, यसमा सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर लैजानुपर्छ ।”

पर्यटन क्षेत्रमा अहिलेसम्म जति प्रगति भएको छ, त्यो निजी क्षेत्रकै देन हो, उनले भने, “लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न जरुरी छ ।”

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विकासका योजना र आगामी रणनीति तथा सरकारले घोषणा गरेको सन् २०२० सम्म २० लाख पर्यटक पु¥याउने अभियानलाई कसरी सार्थक तुल्याउनेभन्नेबारे प्रस्तुति दिए ।

कार्यक्रममा पर्यटन क्षेत्र प्रबुद्ध समूहकातर्फबाट पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठले विज्ञ समूहको मस्यौदा अवधारणापत्र र मस्यौदा सञ्चालन कार्यविधि प्रस्तुत गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार