चितवन, २३ जेठ। नारायणगढ–मुग्लिन सडकखण्डको पुरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।

नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलव २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो।

यससँगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकोमा आजदेखि सवारी नरोकिने खनालले बताए। उनका अनुसार दोस्रो तह ३२ दशमलव ७ किलोमिटर र तेस्रो तह १२ दशमलव ७ किलोमिटर कालोपत्र गरिएको छ। पहिलो र दोस्रो तहमा ६र६ सेन्टिमिटर र तेस्रो तह चार सेन्टिमिटर बाक्लो हुनेछ। उच्चस्तरको कालोपत्र भएकाले पहिलो तह सम्पन्न भएसँगै पहिरोबाहेक अन्य जोखिमबाट सडक मुक्त भएको हो ।

सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगा सम्मको १० दशमलव ४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभिको पहिलो र दोस्रो तह पुरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ। सो सडक खण्डको कालोपत्र र सडक सुरक्षाको काम मात्रै बाँकी रहेको खनालले बताए।

दोस्रो खण्ड दासढुंगादेखि सिमलताल सम्मको १० दशमलव ६९ किलोमिटर सडकको अधिकांश काम सम्पन्न भएको छ। सो खण्डमा उड्हिल लामा जेभीले निर्माणको जिम्मा पाएको थियो। सो खण्डको प्रगति ९७ दशमलव ५० प्रतिशत भएको छ । एक वर्षसम्म काम हेर्नु पर्ने भएकाले प्रगति शत प्रतिशत हुन एक वर्ष कुर्नुपर्ने हुन्छ ।

तेस्रो खण्ड सिमलतालदेखि मुग्लिन सम्मको १२ दशमलव १५ किलोमिटर हो। सो खण्डको प्रगति ८५ प्रतिशत भएको सूचना अधिकारी खनालले बताए। सो खण्डको दोस्रो तह ११ दशमलव ८० किलोमिटर सम्पन्न भएको छ भने तेस्रो खण्ड पुरै बाँकी रहेको छ । तेस्रो खण्डमा कालोपत्र, रोड एङ्करिङ् र सडक सुरक्षाको काम बाँकी रहेको खनालले बताए। मौसम अनुकूल भएमा एक दिनमा दोस्रो र तेस्रो तहको कालोपत्र एक किलोमिटर गर्न सकिने भएकाले लामो समय नलाग्ने उनले बताए।

चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको मे १० मा म्याद सकिएको छ भने दोस्रो खण्डको २० मे र तेस्रो खण्डको ३० मे २०१८ मा सकिएको छ । हालसम्म सो सडकको समग्र प्रगति ९१ दशमलव पाँच प्रतिशत भएको छ । काम बाँकी रहेकाले समय थप गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको छ । कालोपत्र गर्ने काम सम्पन्न भएसँगै पहिरो झर्ने र गाडी बिग्रिने नभएमा एक घण्टा भित्रमा सो सडक पार गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख सन्तोष पन्तले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार