काठमाडौँ, २८ वैशाख । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारद (गार्ड अफ अनर) प्रस्तुत गरेको छ ।

सैनिक मञ्च टँुडिखेलमा आयोजित विशेष समारोहमा सम्मान गारदका साथ १९ तोपको सलामीसमेत दिइएको थियो । विशिष्ट अतिथिको सम्मानमा सम्मान गारद प्रस्तुत गर्ने प्रचलन छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च पुग्नुहुँदा स्वागत गर्नुभएको थियो । सैनिक मञ्चमा सम्मान गारदबाट सम्मानित हुने विशिष्ट पाहुनामा भारतका प्रधानमन्त्री मोदी दोस्रो व्यक्ति हुन् । यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहीद अब्बासी खकानको सम्मानमा पनि नेपाली सेनाले सैनिक मञ्च टँुडिखेलमा सम्मान गारद प्रस्तुत गरेको थियो । समारोहमा मन्त्रिपरिषद्का सदस्यका साथै प्रधानसेनापतिको पनि उपस्थिति थियो ।
नेपालको दुईदिने भ्रमणका क्रममा भारतका प्रधानमन्त्री मोदी आज अपराह्न यहाँ आइपुगेका हुन् । यसअघि जनकपुरमा आयोजित विशेष समारोहमा नेपाल सरकारका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरलले उनलाई स्वागत गरेका थिए ।

प्रधानमन्त्री मोदीको सम्मानमा प्रदेश नं २ को राजधानी जनकपुरमा आज नागरिक अभिनन्दनसमेत भएको थियो । त्यसअघि उनले रामजानकी मन्दिरमा विशेष पूजार्चना गरेका थिए ।

विशेष विमानमा सवार भएर जनकपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि त्यहाँस्थित अतिविशिष्ट कक्षमा प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार