लहान, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

विद्यार्थी भर्ना अभियानको क्रममा सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माध्यमिक विद्यालयमा आज आयोजित विद्यालय भर्ना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “जनताले नेतृत्वका लागि जनमत दिएर आफूहरूलाई पठाएको हो । अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो । त्यसप्रति हामी प्रतिबद्ध छौं ।”

अब कुनै नेपाली जनता खानाबिना र जाडोले कठ्यांग्रिएर मर्नु नपर्ने दाबी गर्दै उनले जनताले देखेको समृद्धिको सपना वर्तमान सरकारले पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मुलुकको विकास र समृद्धिको मुख्य आधार शिक्षा भएको उल्लेख गर्दैउनले भने, “कुनै समय विद्वानहरूको क्षेत्र भनेर चिनिने मिथिला र मेधशमा अहिले शिक्षाको अवस्था नाजुक बनेको छ ।”

“दुनियाँमा शिक्षाको विकास नभएको बेला मिथिला र मेधशमा गग्री र अष्टवक्र जस्ता विद्वानहरू थिए,” उनले भने, “तर आज यहाँका ६१ प्रतिशत जनता अक्षर नचिन्ने छन् ।”

सुनकोसी र कमला नदीलाई डाइभर्सन गरी तराईको खेतीयोग्य जमिनमा सिँचाइ गर्ने र नपुग ठाउँहरूमा सौर्यबाट सिँचाइ गरी उन्नत तरिकाले कृषि उत्पादन गर्ने सरकारको योजना रहेको पनि उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले अबको दिनमा खण्डेखेती प्रणालीलाई विस्थापन गरी सहकारीको माध्यम ‘प्लट सिष्टम’ अपनाउने सरकारको योजना रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार