झापा, २८ चैत । झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो ।

उच्च जोखिममा देखिएकामध्ये झापा दोस्रो स्थानमा पर्छ । गत वर्ष झापामा ५३५ जनामा डेंगु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । महाशाखाका अनुसार तेस्रो जोखिमको जिल्ला महोत्तरी हो । त्यहाँ गत वर्ष ४३८ जनामा डेंगु भेटिएको थियो ।

डेंगु संक्रमण हुँदा असाध्यै ज्वरो आउने, टाउको र आँखाको गेडी तथा आँखाको पछिल्लो भाग एवं ढाड, हातजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, नाक तथा गिजाबाट रगत आउनेलगायत लक्षण देखिन्छन् ।

तराई तथा भित्री मधेशका जिल्लामा डेंगुका बिरामी वर्षेनी बढ्दै छन् । विसं २०६७÷०६८ मा चितवन, रुपन्देही, नवलपरासीलगायत जिल्लामा महामारीका रुपमा डेंगु फैलिएको थियो । चितवनमा मात्रै ७३९ जना संक्रमित भेटिएका थिए ।

गमला, फूलदानी, टायर, पानीट्यांकी, फ्रिजलगायतमा जमेको सफा पानीमा लामखुट्टेले फुल पार्छ । लाखमुट्टेको फुल नष्ट गर्नका लागि पनि सफा पानी जम्न नदिने र नियमित सफा गर्नुपर्ने महाशाखाले जनाएको छ ।

केही दशकदेखि विश्वभर डेंगु संक्रमण बढ्दै गएको छ ।बितेको ५० वर्षमा यसको संक्रमण ३० गुणाले बढेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार