जाजरकोट, १३ फागुन। बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे । उनलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो । आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उनी बताउछन् ।

उनी मात्र होइन, जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएकाको व्यवसाय संकटमा पर्दै गएको छ । आफूले सिकेको सीप दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा उनीहरूको व्यवसाय संकटमा परेको हो । बजारमा पाइने गलैँचा, कम्बल लगायतका सामग्रीले आफ्नो व्यवसाय संकटमा परेको उनीहरू बताउँछन्  । जाजरकोटमा परम्परागत रूपमा बुनिँदै आएका राडीपाखी र बख्खु बिस्तारै लोप हुँदै गएका छन्  ।

केही वर्षअघि सम्म हरेक घरमा भेडा तथा बाख्राको ऊनबाट तयार गरिने कपडाको प्रयोग हुन्थ्यो । स्थानीयवासी जनकबहादुर शाहीका अनुसार बजारमा तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग घट्दै गएको छ ।

हिमाली क्षेत्रमा पाइने भेडाको रौँबाट ऊन तयार पारेर राडीपाखी र बख्खु बुन्ने गरिन्छ । एउटा राडी बुन्नका लागि कम्तीमा पनि दश दिन लाग्ने स्थानीयवासी रामबहादुर रावतले बताए  । “समय पनि बढी लाग्ने र बिक्री गर्दा त्यति फाइदा नहुने भएकाले अहिले राडीपाखी र बख्खु बुन्ने काम घट्दै गएको छ। पहिले धेरै बिक्री हुन्थ्यो, आजभोलि बजारमा मागसमेत घटेकाले बिक्री हुन छाडेको छ ।” बजारमा एउटा राडी चारदेखि छ हजार सम्ममा बिक्री हुने गरेको छ ।

पुरानो पुस्ताले गाउँमै बुनिएको कपडा प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले प्रयोगमा रुचि नदेखाएको जाजरकोट उद्योग वणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए  । समय खर्चिएर भेडाको ऊन काटेर धागो बनाई राडीपाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न सजिलो भएकाले घरमै गर्न सकिने यो पेशा बिस्तारै लोप हुँदै गएको स्थानीयवासी बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार