काठमाडौँ, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन् ।

राजधानीको एक कार्यक्रममा प्रचण्डले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको अवरोधलाई चिरेर अगाडि बढ्ने बताए राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गरेर जानुपर्नेमा जोड दिँदै उनले भने, “जनताको अपेक्षा पूरा गर्न नयाँ संकल्प जरुरी छ । राजनीतिक स्थायित्वलाई पूर्णता दिन पनि आर्थिक क्रान्ति जरुरी छ ।”

देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले त्यस्तो प्रयासलाई सफल हुन नदिने विश्वास व्यक्त गरे । “हामी मुलुकलाई अराजकतामा धकेल्न खोज्नेको प्रयासलाई सफल हुन दिँदैनौँ” अध्यक्ष दाहालले भने ।

सरकारका पछिल्ला गतिविधिप्रति संकेत गर्दै अध्यक्ष दाहालले आर्थिक अराजकता देखिन खोजेको र त्यस्तो प्रयास भइरहेकाले वाम गठबन्धनले त्यसलाई बाहिर निकालेर छाड्ने बताए ।

वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने बताउँदै उनले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फको यात्रामा लैजाने अठोट गरे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार