चितवन, १५ माघ । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०÷३० कै हाराहारीमा हुने बताएका छन् । चितवनको एक कार्यक्रममा उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०÷४० को भागबन्डा गरेपनि चुनावको परिणामले दुई पार्टीलाई ७०÷३० को अनुपातमा लगेको बताए ।

प्रदेशमा ७०÷३० को भागबन्डा गरिएको बताउँदै नेता पाण्डे भने, “राष्ट्रियसभा र प्रदेशको सिट बाँडफाँड ७०÷३० प्रतिशतको आधारमा गरिएको छ, पार्टी एकीकरण र संघीय सरकार पनि त्यसै अनुपातमा हुनसक्छ ।”

उनले एक जना मन्त्री यता र उता हुँदा प्रतिशतमा तलमाथि भए पनि समग्रमा यसैलाई आधार मानिने स्पष्ट पारे ।

नेता पाण्डेले भने, “एमालेलाई ६० देखि ७० प्रतिशत र माओवादी केन्द्रलाई ३० देखि ४० मा घटी बढी नहुने गरी पार्टी र सरकारको भागबन्डा मिलाईन्छ ।”

पार्टी एकीकरणका लागि विभिन्न आधार तय गरिएको बताउँदै उनले पार्टी एकीकरण भन्दा पहिला नै सरकार गठन हुने बताए । नेता पाण्डे दुई वटा पार्टी भएर सरकारमा जाँदा धेरै कुरामा फाइदा हुने बताउँदै दुई पार्टीबीच अहिलेसम्म कुनै बिमति नरहेको र पार्टी एकीकरण पनि सहज रुपमा हुने दाबी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार