काठमाडौँ, १ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास हुन गएका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताएका छन् ।

चौथो तारेभिर महोत्सवको आज गोकर्णेश्वर नगरपालिकाको तारेभिरमा उद्घाटन गर्दै उनले भने, “विकासका लागि राजनीति गर्ने अवसर आएको र नेपाली जनताले सोही प्रयोजनका लागि वाम गठबन्धनलाई दुई तिहाइको हाराहारीमा जनमत दिएको छ ।”

अध्यक्ष दाहालले शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउने र मुलुकलाई आर्थिकरुपमा सबल, सक्षम बनाउने लक्ष्यका साथ नेकपा एमाले र माओवादी केन्द्र संयुक्तरुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गएका कारण जनताले विश्वास गरेको स्पष्ट पारे ।

“पार्टी एकताको प्रक्रिया अगाडि बढिसकेकाले अब पछाडि फर्कने कुनै पनि बाटो रहेको छैन्” उनले भने, “नेपाली जनताले पार्टी एकतालाई मतद्वारा अनुमोदन गरिसेकका छन् ।”

अध्यक्ष दाहालले “नेपाली जनताले राजनीतिक स्थिरताको पक्षमा मतदान गरेका छन्, नेपाली जनताको मतलाई हामी सम्मान गरेर राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धि दिन तत्पर छौँ,” भन्दै नेपालको राजनीतिक इतिहासमा ७० वर्षपछि पाँच वर्ष टिक्ने स्थायी सरकार बन्ने र विकास पूर्वाधारका क्षेत्रमा नयाँ युगको सुरुआत हुने धारणा व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार