तुलसीपुर, २ पुष । निर्वाचन सकिए लगत्तै प्रदेशको राजधानीका विषयमा सबैतिर चासो बढेको छ । पाँच नम्बर प्रदेशका राजधानी हुनुपर्ने भन्दै आज तुलसीपुरमा स्थानीयबासीले प्रदर्शन गरेका छन् । सरकारले अहिले अस्थायी राजधानी तोक्ने तयारी गरे पनि पाँच नम्बर प्रदेशको राजधानी बुटवल पनि हुन सक्ने चर्चा चल्दै गर्दा दाङमा जनदवाव सुरु भएको हो । प्रमुख राजनीतिक नेताहरुले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने बताइरहदा तुलसीपुरबासीले दबाबस्वरुप आज प्रदर्शन गरेका हुन् । प्रदेश निर्वाचनमा नेकपा एमालेका तर्फ नेता शंकर पोखरेल मुख्यमन्त्रीका रुपमा समेत विजयी भइसकेको अवस्थामा राजधानी दाङ बाहेक अन्यत्र हुन नसक्ने भन्दै स्थानीयस्तरमा व्यवसायी,सञ्चारकर्मी,बुद्धिजीवि, कानूनव्यवसायी तथा राजनीतिक दलका नेता कार्यकर्ता दबाबी कार्यक्रममा सहभागी भएका थिए । भूगोल तथा सबैलाई पायक पर्ने भएका कारण दाङ प्रदेशका राजधानीका लागि उपयुक्त हुने भन्दै एमालेमाओवादी गठबन्धनले निर्वाचनमा भोट मागेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै उच्च अदालत तुलसीपुरमै रहेको, प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुरमै रहेको, रेडियो नेपालको प्रदेशस्तरीय रिले स्टेशन तुलसीपुरमै रहेको, पहिलो बैठकका लागि भवनसमेत तयार भएको अवस्थामा यसविपरीत बुटवल राजधानी बनाइने हल्ला चलाएकाले त्यसको पछाडि नलाग्नसमेत स्थानीयवासीलाई सचेत गराइएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज, दाङका संयोजक टीकाराम रेग्मीले दाङ राजधानी भएन भने त्यो घोषणा भएको दश मिनेटमै नागरिकले आन्दोलन छेड्ने र केन्द्रमा घेर्नेसम्म बताए । त्यस्तै, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले दाङ राजधानी बनाउन आफूहरू जस्तोसुकै कदम चाल्नसमेत तयार भएको बताए । महिला अधिकारकर्मी सुष्मा गिरीले दाङ प्रदेश नं ५ को केन्द्रमा रहेको, सबैभन्दा ठूलो भूगोल भएको हुँदा वैदेशिक सीमा क्षेत्रमा राजधानी राख्नु उपयुक्त नहुने तर्क गरे । “दाङ राजधानी भएन भने जस्तोसुकै मूल्य चुकाउन दाङ पछि पर्नेछैन,” उनले भने । त्यस्तै, सहभागीहरुले सबै क्षेत्रको केन्द्र र सबै किसिमले उपयुक्त जिल्ला दाङ रहेको तर्क गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार