O-Henry

वासिङ्टन स्क्वेरको पश्चिम पट्टी अनौठा गल्लीतथा कुनाहरूसँगै गुजमुल्टीएका ती ठाउँहरूलाई केही चित्रकारहरूले आफ्नो कर्मथलो बनाए । उक्त कर्मथलोको कुनै एक तीन तल्ले घरमा स्यु र जोहाना उर्फ जोन्सीले आफ्नो चित्रशाला बनाएका थिए । मेइन र क्यालिफोर्नियाका यी जोडीको संयुक्त अभिरूचीले यिनीहरूलाई एक संयुक्त चित्रशाला तिर उद्धत गराएको थियो ।

मे महिनाको चिसो सिरेटोसँगै एक अपरिचित न्युमोनियाले यी चित्रकारहरूको कर्मथलोमा यत्र–तत्र चीसो स्पर्शसँगै दर्जनौँ शिकारलाइ आफ्नो चङ्गुलमा फसाउँदै निर्भिकरूपमा पाइला अगाडि बढाउँदै हिँड्यो । चिसोको प्रभावसँगै मीस्टर न्युमोनियाको प्रभाव अझ बढ्दै गयो ।

जोन्सी पनि उसको चङ्गुलबाट बच्नसक्ने त कुरै थिएन । मीस्टर न्युमोनियाको प्रभावले ग्रस्त जोन्सी हलचल नगरिकन आफ्नो सयनकक्षको आयातीत डच झ्यालबाट अर्को घरको पर्खालमा नियाल्दै थिइन ।
एक बिहान व्यस्त डक्टरले स्युलाई सुटुक्क कोठा बाहिर बोलाए ।

“दश भागको एक भाग मात्र छ है सम्भावना । र त्यसमा पनि बाँच्ने चाहना जाग्नुपर्छ । तपाईँको साथीमा म बाँच्न सक्दीन होला भन्ने धारणाले जरो गाडेको छ । उनको केही अन्तिम चाहना पो थियो कि ?”

“कुनै दिन न्यापल्सको खाडीको चित्र बनाउने इच्छा व्यक्त गर्थीन ।”

“चित्र ? अचम्म ! त्यस्तो कुनै चिज जसको बारेमा उसले बारम्बार सोच्ने गर्थी … जस्तै कुनै पुरूष साथि ?”

“पुरूष साथि ? त्यस्तो होला र ? होइन डक्टर उसको त्यस्तो केही छैन ।”

“ठीक छ त्यसोभए कमजोरी होला,” डक्टरले भन्दै गए, “म विज्ञान र मेरो क्षमताले भेटेसम्म गर्छु । तर जव मेरा बिरामीहरू मसानघाटको यात्राको प्रतिक्षा गर्छन, तब उनीहरूमा औषधिको उपचार गर्नसक्ने क्षमता करिब आधानै घट्न गएको पाउँछु । यदि उसलाई जाडोको कपडा किन्ने इच्छा मात्र जागृत भयो भने पनि दश भागको एक भाग को सट्टा उसको सम्भावना पाँच भागको एक भागमा बढ्छ ।”

डक्टर जानासाथ स्यु आफ्नो पेन्टीङ कक्षमा गएर धेरैबेर रोइन । त्यसपछि आफ्नो ड्रइङ बोर्ड घिसार्दै र सुसेल्दै जोन्सी भएको कक्ष तिर लागी ।

जोन्सी ज्युँ का त्युँ आफू पल्टेको तन्ना एक रत्ती पनि नहल्लाइकन झ्यालतिर फर्केर पल्टिरहेकी थिइ । जोन्सी सुतेकी सम्झेर स्युले सुसेल्न छोडी ।

उसले अघि ल्याएको ड्रइङ बोर्ड मिलाइ र एक आवधिक पत्रिकाको आवरणपृष्ठको लागि चित्र बनाउने काममा तल्लीन भई ।

काममा ध्यानमग्न भएकै बेला उसले एउटा मलीन आवाज सुनी । उसले जोन्सी भएतिर हेरी — जोन्सीका आँखा खुल्ला थिए र ऊ झ्यालतिर हेर्दै उल्टो गन्दै थिई – “बाह्र” फेरी एकछिन पछि “एघार” अनि “दश” अनि “नौ” अनि “आठ” र “सात” करिब सँगसँगै ।

स्युका आँखा अनायाश झ्याल बाहिर खोज्न थाले । के थियो त्यहाँ त्यस्तो गन्न लायक ? त्यहाँ थियो त मात्र एक उराठलाग्दो दृश्य । करीब बीस फीटजति पर थियो एउटा इट्टाको पर्खाल । एउटा मर्नैलागेको ‘इभी’को लहरा जरासम्मै कुहिएजस्तो त्यो इट्टे पर्खालको आधाआधीसम्म पुगेको देखिन्थ्यो । शिशीरको चीसो बतास यसका केही बाँकी पात तथा लहरालाई पनि हल्लाउँदै थिए ।

“के देख्यौ र त्यस्तो हँ,” स्युले सोधी ।

“छ,” जोन्सी सुसाई, “अब त चाँडै झर्दैछन । तीन दिन अघि त त्यहाँ शयभन्दा पनि बढी थिए । गन्दा गन्दा टाउकै दुख्थ्यो । अब त सजिलो भयो । ऊ अर्को गयो । अब त पाँचओटा मात्र बाँकी छ ।”

“पाँचओटा के, नानु ? तिम्री स्युडीलाई पनि त भन ।”

“पातहरू । त्यो इभीको लहरामा हेर त । जब अन्तिम पात खस्छ, अनि म पनि जान्छु । तीन दिन भयो मैले त्यो थाहा पाएको । डक्टरले तिमीलाई भनेन र ?”

“यस्तो बकवास त कहिल्यै पनि सुनेको छैन ।” स्युले पीडामिश्रीत स्वरमा गुनासो गरी । “त्यो इभीको पातले तिम्रो स्वास्थ्यलाई के गर्न सक्छ ? अनि तिमी त्यो लहरालाई पनि त मन पराउँथ्यौ नि त । मूर्ख नबन, जिद्दी केटी । डक्टरले बिहान भन्यो कि तिम्रो बाँच्ने सम्भावना – अँ उसले स्पष्ट भन्यो कि तिम्रो सम्भावना १० मा एक छ रे । के त्यो सम्भावना पर्याप्त छैन र । त्यसो त ‘न्यु योर्क’को सडकमा गाडीमा यात्रा गर्दा होस अथवा पल्लो घरको अगाडि हिँडदा पर्नसक्ने सम्भावना पनि त्यति नै हैन र ? अलिकति तातो सूप खाऊ र स्युडीलाई चित्रकलामा भुल्न देऊ ताकि सम्पादक महोदयले मेरी प्यारी बिरामी बच्चीका लागी अलिकति पोर्ट वाइन र यो लोभी ‘म’लाई पोर्क चप किन्ने पैसा जुटाइदिउन ।”

“भो अब तिमीले वाइन किन्नु पर्दैन ।” जोन्सी आँखा अझ पनि झ्यालबाहिर टिकाउँदै भन्दै गइ । “ल अर्को पनि गयो । अहँ, मलाई तातो सूप पनि चाहिँदैन । जम्मा चारओटामात्र बाँकी छन् । साँझ पर्नु अगाडि अन्तिम पात झरेको हेर्न चाहन्छु । त्यसपछि त म पनि जान्छु ।”

“प्यारी जोन्सी,” स्युले उनीतिर झुक्दै भन्न थालि, “एउटा वाचा गर्छौ, मैले काम गरून्जेल कृपया आँखा बन्द गर र झ्याल बाहिर नहेर । मलाई यी चित्रहरू भोली नै दिनु छ । मलाई प्रकाश चाहिन्छ । नत्र पर्दा बन्द गर्नु पर्छ ।”

“अर्को कोठामा बनाए हुन्न र ?” जोन्सीले मन कुँड्याउँदै सोधी ।

“तर मलाई त यहाँ तिमीसँग पनि त बस्नु छ,” स्युले भनी । “साथै म चाहन्न तिमी त्यो बकवास इभीका पातहरू हेरिरहु ।”

“काम सकिनासाथ भन है त ।” जोन्सी आँखा बन्द गर्दै यसरी पल्टीई कि मानौँ एक मुर्ती जमिनमा पसारीएको होस् । “किनकी म त्यो अन्तिम पात खसेको हेर्न चाहन्छु । कुर्दा कुर्दा थाकेकी छु । सोच्दा सोच्दै थाकेकी छु । यी सबकुरामा अल्झिरहन चाहन्न, फगत तैरिन चाहन्छु हावासँग ती बिचरा थाकेका पातहरू जस्तै ।”

“सुत्ने प्रयास गर,” स्यु भन्दै गइ, “म बूढो बर्मनलाइ सन्त खनिकको नमूनाको रूपमा उतार्न चाहन्छु । एक मीनटमा आउँछु, म नआईन्जेलसम्म हलचल नगर्नु है ।”

बूढो बर्मन भुईँतल्लामा उनीहरूकै पछाडिको कोठामा बस्ने एक चित्रकार थियो । साठी नाघिसकेको बर्मन झलक्क हेर्दा माइकल एञ्जेलोको कृति मोजेजको जस्तो दाह्री एक प्राचीन मीथकको पुड्के शैतान इम्पको शरीरमा अवस्थीत ग्रीक मीथकको पात्र स्याटीरको जस्तो टाउकोबाट घुम्रँदै झरीरहेको मीथकीय पात्र झैँ लाग्दथ्यो । बूढो बर्मन चित्रकलाको क्षेत्रमा असफल थियो । चालीसवर्षदेखि कुची चलाउँदै आए पनि त्यसको प्रभावले उसकी मैयाँको कपडाको फेरो पनि हल्लाउन सकेको थिएन । ऊ सँधैजसो एक सर्वोत्कृष्ठ चित्र बनाउने धुनमा रहेको तर त्यो चित्र शुरू गर्न नसकेको बताउने गर्दथ्यो । धेरै वर्षदेखि उसले एक्का दुक्का विज्ञापनहरूमा एक–दुई थोपा मसी खर्च गर्नुभन्दा बाहेक अरू केही गर्न सकेको देखिँदैनथ्यो । कहिलेकाहीँ यसरी यी चित्रकारहरूसँग नमुना पात्र बनेर एक–दुई सिक्का आर्जन गर्ने गर्थ्यो । यसो गर्नुमा भने यी चित्रकारहरूलाई पनि पेशेवर कलाकारहरूलाई तिर्नुपर्ने रकम बच्ने हुन्थ्यो । अत्याधिक रूपमा जिन पिउँदा आफ्नो सर्वोत्कृष्ठ चित्रको बारेमा भन्न बिराउँदैनथ्यो । त्यसभन्दा माथि केही थियो भने ऊ एक रूखो पुड्के बूढो थियो जो यी माथि बस्ने दुई चित्रकारहरूकोलागि जे पनि गर्न तयार रहन्थ्यो ।

स्यु भित्र जाँदा बर्मन आफ्नो गुफाजस्तो कोठामा सुगन्धित बेरीको बासनामा आनन्द लिँदै थियो । एउटा कुनामा एउटा खालि चित्रपट पच्चीस वर्षदेखि बर्मनको सर्बोत्कृष्ठ चित्रका पहिला धर्साहरूको पर्खाईमा बसीरहेको थियो । उसले बर्मनलाई जोन्सीको लहडको बारेमा भन्यो कि कसरी उसको कमजोर हुँदै गएको स्वास्थ्य स्थितीको कारण उसले आफूलाई उक्त झर्नै लागेको पात उडेर झरे झैँ झर्न सक्ने भयले ग्रस्त भएको महसुस गरिरेहेकी छ ।

बुढो बर्मन राता र रसिला आँखा बनाउँदै त्यस्तो पागलपन युक्त कल्पनाप्रतिको आफ्नो अनिच्छा व्यक्त गर्दै भन्यो – “धत!” ऊ भन्न थाल्यो “त्यस्ता मून्छे नि छन् ह्याँ ? भित्ताँ सुक्या लहराट पात झर्दाँ नि कहीँ मून्छे मर्लान । यस्तो बात त मैले कहिल्यै नि सुन्योछैन है । भो म त बस्तिन तिमेरूको जोगीको मुडेल-सुडेल बनेर । उसको दिमाखमा यस्ता बात आउन किन देको ? बिचरी जुम्सी नानी ।”

“ऊ अझै पनि बिरामी र कमजोर छ,” स्यु भन्दै गइ, “अनि ज्वरोले लखतरान पारेको छ अनि ऊ त्यस्तै नचाहिँदो सोचीरहन्छे । ठीकै छ बर्मन जी, यदि तपाईँ मेरो नमुना बन्न चाहनुहुन्न भने केही छैन । तपाईँ त कस्तो ढीठ र रूखो मान्छे ।”

“आइमाई मून्छे भन्या आइमाई मून्छे नै हो क्या!” ‘बर्मन’ चिच्यायो । “कइले भनेँ म गर्दिन भनेर । जाँदै गर्नु म आइहाल्छु । आधा घण्टा देखि भनीराछु म गर्छु भनेर । हे भग्मान! जुम्सी नानी यसरी बिमार पर्ने ठाउँ नै होइन यो । एकदिन म पनि यौटा च्याट्टको राम्रो पिन्टीङ बनाम्छु अनि हामेरू सप्पै त्यहिँ जाने त हो नि । रछ्छे गर भग्मान ।”

जब उनीहरू माथि पुगे ‘जोन्सी’ सुतिरहेकी थिइ । ‘स्यु’ले झ्यालको पर्दा बिस्तारै तानी र बर्मनलाई भित्र आउन भनी । ती दुवैले भय मिश्रीत नजरले त्यो ‘इभी’को लहरालाइ नियाले र केहीबेर केही नबोली एकअर्कालाई हेरीरहे । हल्का हिमपातसँगै निरन्तर चिसो पानी झर्दै थियो । ‘बर्मन’ आफ्नो निलो पुरानो सर्टमा सन्त खनीकको भुमिकामा ढुङ्गाको सट्टा उल्ट्याएर राखेको केत्लीमा टुसुक्क बस्यो ।
भोलीपल्ट जब स्यु एक घण्टाको सुताई पछि उठी जोन्सी मलीन अनुहार र ठूला-ठूला आँखा बनाउँदै हरीयो बन्द पर्दातिर हेर्दै थिई ।

“पर्दा खोल न म हेर्छु,” सुसाउँदै उसले अनुरोध गरी ।

दिक्क मान्दै स्युले आदेशको पालना गरी ।

तर अचम्म ! त्यत्रो वर्षा र तीब्र हावाको बावजुद त्यो एक्लो पात पुरा रात कटाएर अझै पनि त्यो इट्टे पर्खालमा ज्युँका त्युँ थियो । त्यो नै त्यस इभीको लहराको अन्तिम पात थियो । त्यो पातको फेदमा अझै पनि गाढा हरियोपन बाँकी थियो । चिरीएको र कताकती ओइलिएको र सुक्नलागेको जस्तो देखिने पहेँलो रङ प्रष्टसँग देख्न सकिने उक्त पात जमीनबाट करीब बीस फिट माथि बलियोसँग अडेको थियो ।

“त्यो त अन्तिम पात हो,” जोन्सी भन्दै थिइ । “मैले सोचेको थिएँ कि राती नै त्यो झर्छ भनेर । हावा पनि निक्कै जोडले चलेको थियो । आज त पक्कै झर्छ, अनि म पनि त्यो पातसँगै जान्छु ।”

“प्यारी नानु !” स्यु आफ्नो थकित अनुहार उसको नजिक पुऱ्याउँदै भनी, “मेरो बारेमा त सोच, यदि तिमी आफ्नो बारेमा सोच्दिनौ भने, मैले के गर्ने ?”

जोन्सीले केही जवाफ दिइन । संसारमा सबैभन्दा एक्लोपन महसुस गराउने केही चिज छ भने त्यो हो कुनै आत्मालाई यसैको रहस्यमयी, सुदुर यात्रामा पठाउन तयार गर्नु हो । त्यो बिचारले उसलाइ यसरी गाँज्यो कि उसले बिस्तारै मित्रता र संसारको मोह खुकुलो पार्दै लग्यो ।

दिन बिस्तारै ढल्कँदै गयो र साँझको उज्यालोमासमेत उनीहरू त्यो भित्तामा टाँसीएको इभीको पात प्रष्टसँग देख्दै थिए । रात्रीको आगमनसँगै उत्तरी वायु अझ जोडसँग चल्न थाल्यो र पानीका थोपाहरू झ्यालका सिसा तथा चौकसलाई रातभर ठटाइरहे ।

जब बिहानको प्रकाश पर्याप्त भयो, निर्दयी जोन्सी ले पर्दा उठाउने आदेश दिई ।

त्यो इभीको पात अझै त्यहीँ थियो ।

जोन्सी धेरै बेरसम्म त्यसैलाई हेरेर बसीरही । अनि उसले स्युलाइ बोलाइ । स्यु ग्यास चुल्होमा चिकन सुप तयार गर्दै थिइ ।

“म त साह्रै खराब भइछु स्युडी,” जोन्सीले भनी । “कुनै अदृश्य शक्तिले त्यो पातलाई त्यहाँ रोकेर राखेको छ ता कि मैले थाहा पाउँ कि म कति खत्तम रहेछु भनेर । मर्ने चाहना गर्नु त पाप हो । अलिकति सुप मलाई अहिल्यै बनाइदेऊ, अलिकति दूध र अलिकति पोर्ट वाइन पनि ठीक पार, अनि – हैन; पहिला मलाइ एउटा ऐना ल्याऊ त, अनि यो तकियाहरू मिलाइदेऊ, म उठेर बस्छु र तिमीले पकाएको हेर्छु ।”

अनि एक घण्टा पछि उसले भनी – “स्युडी, कुनै दिन म न्यापल्सको खाडी पेन्ट गर्छु ।”

दिउँसो डक्टर आए र डक्टर जाने बेलामा स्युलाइ बाहिर हलवेमा निक्लने बहाना मिल्यो ।

“सम्भावना बढेको छ,” स्युको पातलो कामीरहेको हात आफ्नो हातमा लिँदै डक्टरले भने । “राम्रो स्याहार सुसारले तिम्रो जित हुनेछ । तल्लो तलामा अर्को बिरामी हेर्न जानु छ । बर्मन नाम हो । कुनै कलाकार हो सायद । उसलाइ पनि न्युमोनिया नै हो । बुढो र कमजोर मान्छे, केस साह्रै सिरीयस छ । कुनै आश छैन; आज हस्पिटल जान्छन, अलि सजिलो होला ।”

अर्को दिन डक्टरले स्युलाई भनेः “उनी अब खतरामुक्त छिन । तिमीले जित्यौ । अब केही पोषण अनि हेरचाह – त्यति भए पुग्छ ।”

अनि त्यो दिन दिउँसो स्यु जोन्सी सन्तोषसँग खासै काम नलाग्नो र गाढा नीलो स्कार्फ बुन्दै पल्टीरहेको खाटतिर आइ र उसलाइ अँगालोमा हाली

“तिमीसँग एउटा कुरा गर्नु छ, सेती मुसी” उसले भनी । “बर्मन आज अस्पतालमा न्युमोनियाले खसेछन् । मात्र दुई दिनदेखि बिरामी थिए । पालेले पहिलो दिन बिहान पीडाले छटपटाइरहेको अवस्थामा भेटेछन् । उसका जुत्ता र कपडा चिसो र हिउँले कक्रक्क परेका थिए । त्यस्तो डरलाग्दो रातमा कहाँबाट आएको कसैले अनुमान पनि गर्न सकेछन् । उसँग उनीहरूले एउटा बलिरहेको लालटिन, एउटा घिसारेर ल्याइएको भऱ्याङ, केही छरिएका कुचीहरू, र एउटा रङदानीमा पहेँलो र हरियो रङ मिसाइएको अवस्थामा भेटेका रहेछन – त्यो झ्यालबाट बाहिर हेर त, त्यो अन्तिम इभीको पात किन पर्खालबाट खसेन ? तिमीले कहिल्यै यो सोचीनौ त्यो पात हावाले किन हल्लाउँदैनथ्यो ? अहो नानु, त्यहि त हो बर्मनको मास्टरपिस – उसको सर्वोत्कृष्ट चित्र – उसले त्यो चित्र त्यहि राती बनायो जुन राति त्यो पात लहराबाट खस्यो ।”

अनूदित कथाः अन्तिम पात
मूल लेखकः ओ हेनरी
अनुवादकर्ताः एकदेव अधिकारी

साभारः मझेरी डट कम

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार