एकीकृत नेकपा माओवादीका अध्यक्षको कथा अनौठौ छ। उग्र माओवादको वकालत गर्दे २५ वर्ष भन्दा भूमिगत भए। १७ हजार मान्छेको ज्यान जाने गरी भएको सशस्त्र युद्धको नेतृत्व गरी आफ्नो अजेन्डा अघि बढाउन आफ्नै टाउकोको मूल्य ५० लाख तोक्नेहरुसँग सम्झौता गरे। गणतन्त्र र संविधानसभाका कट्टर विरोधीहरुलाई पछिपछि हिँडाए। संविधानसभाको चुनाव जिते, पार्टी फुटाए अनि चुनाव हारे। साम्यवादको स्थापना बाहेकका १० वर्षे सशस्त्र युद्धका मुख्य लक्ष्यहरु हासिल गरेरै छाडे। नयाँ संविधान घोषणा भएपछि दिएको पहिलो अन्तर्वार्तामा बिबिसी नेपाली सेवाका रवीन्द्र मिश्रले उनलाई सोधेका थिए- गणतन्त्र, संविधानसभाबाट संविधान, संघीयता र समावेशिता जस्ता तपाईँका मुख्य उद्देश्यहरु हासिल गर्नुभयो, अब तपाईँको आकांक्षा के छ?

 

जुन दिन संविधानसभाबाट संविधान पारित भयो, त्यो दिन फर्कँदै गर्दा म धेरै भावुक भएको थिएँ। सेक्युरिटीले केही दिनदेखि अलि थ्रेट बढेको छ, तपाईँ बाहिर यताउता नजानुस् भन्थे। म यहाँबाट बालुवाटार अनि सिंहदरबार अनि बानेश्वर, त्यो भन्दा यताउता नजाने भन्ने सेक्युरिटी फोर्सको, प्रमुखहरुदेखि लिएर प्रमुखहरुको पनि थियो। त्यो दिन घरमा छिर्ने बित्तिकै मैले त्यहाँ सबैलाई राखेर भनेँ, अब म मरे पनि केही फरक पर्दैन। त्यसकारण अब मेरै धेरै ठूलो आकांक्षा छैन। अब म मरे पनि नेपालको इतिहास अगाडि बढ्यो। गणतन्त्र संस्थागत भयो भनेर सेक्युरिटीलाई भनेँ। होइन सर, तपाईँले यो भन्न त मिल्दैन, तपाईँ त अझ बढी बाँच्नुपर्छ भने उनीहरुले।

तर सैद्धान्तिक परिवर्तन पो भयो। देशको विकास त भएको छैन नि। तपाईँको मिसन पुरा भयो र?

अब कुरा के हो भने यो सैद्धान्तिक परिवर्तन या सम्बोधन जे भएको छ, यसको मक्सद भनेको देशको परिवर्तन नै हो। म के मान्छु भने, त्यो सिंगै बाँकी छ, तर यो एउटा पूर्वशर्त थियो।

तपाईँले यो भन्दा अगाडि बीबीसीमा मैसँग कुरा गर्दाखेरी अझै ७/८ वर्ष म सक्रिय र मूलधारको राजनीतिमा हुन चाहन्छु भन्नुभएको थियो। अब ७/८ वर्ष कुन रुपमा बस्न चाहनुहुन्छ राजनीतिमा?

तपाईँले ठीकै ठाउँमा प्रश्न गर्नुभयो। अघि मैले भनेकोसँग यसको तादात्मय फरकजस्तो देखिए पनि मलाई अहिले पनि लाग्छ म ७/८ वर्ष अझै पनि सक्रिय राजनीति गर्न पनि सक्छ, गर्न पनि पर्छ। त्यसरी हेर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्यो, समावेशी समानुपातिक थुप्रै आयोगहरु बनेका छन्, यो सबै हिसाबले एकचोटी यो संरचनाहरु कार्यान्वयन गर्ने र निर्वाचनसम्म जाने, नयाँ निर्वाचनद्वारा संघीयता, प्रदेशहरु बन्ने, स्थानीय निकायहरु बन्ने, यो सबै संरचना पुरा भएर, विकासको गतिलाई पनि तीब्रता दिने.. तपाईँले जहाँनेर सोध्न खोज्नुभयो, प्रधानमन्त्री हुने या के गरेर गर्ने त भन्ने कुरा जहाँसम्म छ, यो त मैले अहिले चाहिँ म कुनै पदको निम्ति विलकुल मेरो दिमागमा छैन।

तपाईँले चाहेको सपना तपाईँ बाहिरै बसेर राजनीति गरेर त कार्यान्वयन त हुँदैन।

आजमात्रै पनि मैले मञ्चबाट अपिल गरेँ, प्रमुख शक्तिहरु मिलेर यो उपलब्धि हासिल भएको छ। अब यसलाई कार्यान्वयन गर्न र देशलाई विकासतिर लैजान पनि केही वर्ष हामीले मिलेरै जानुपर्छ। अब हाम्रो पार्टी सरकारमा हुन्छ। म बडो प्रष्टसँग भन्न चाहन्छु- सरकारमा हुन्छ र महत्वपूर्ण जिम्मेदारीका साथ हुन्छ।

ए अब बन्ने सरकारमा तपाईँहरुको पनि सहभागिता हुन्छ?

हुन्छ। हामी सरकारमा सहभागी नभइकन यो संविधान कार्यान्वयन पनि र हामीले देखेको आर्थिक विकासको सपना पनि पूरा गर्न सकिँदैन। त्यसकारण सरकारमा हामी हुन्छौँ। सरकार सञ्चालनको निम्ति प्रमुख पार्टीहरुको एउटा संरचना हुन पनि जरुरी छ जसले राजनीतिक र नैतिक हिसाबले सरकारलाई ठिक दिशा दिन मद्दत गर्न सक्छ। त्यस्तो संरचना सायद मेरो लागि ठिक हो कि भन्ने मलाई लाग्छ।

बाबुरामजी एकीकृत नेकपा माओवादीको अध्यक्ष बन्न खुब चाहिरहनुभएको छ भन्ने चर्चा त छँदैछ, तपाईँ ७/८ वर्ष राजनीतिमा सक्रिय रहने, त्यसमा पनि सरकारमा सहभागी हुने, त्यसमा पनि प्रमुख नेताहरुको एउटा समूह बनाउने सरकारलाई सल्लाह सुझाव दिन भनेपछि बाबुरामजीले पार्टीको अध्यक्ष हुने नसोचे भयो?

हाम्रो केन्द्रीय समितिमा अब पार्टी कसरी लैजाने, लिडरसिपको टिम कसरी बनाउने, लिडरसिप कसरी हस्तान्तर गर्ने भन्नेबारेमा मैले प्रस्ताव पेश गरेको छु। त्यसमाथि छलफल हुन बाँकी छ। म सक्रिय राजनीतिमा लाग्नको लागि पार्टीको अध्यक्ष भइ नै रहनुपर्छ भन्ने चाहिँ छैन।

तर पनि तपाईँ प्रधानमन्त्री भैसकेको मान्छे, पार्टीको अध्यक्ष यत्रो समयदेखि हाँकिरहेको मान्छे, हैन म अध्यक्ष नभए पनि म मूलधारको राजनीतिमा सक्रियतापूर्वक योगदान पुर्‍याउँछु भन्ने अलि आदर्शवादी कुरा भएन?

लिडरसिपहरुले राम्रो काम गर्दै गए राष्ट्रको निम्ति, जनताको निम्ति र दुनियाकै निम्ति पनि भने कहिलेकाहीँ औपचारिक पद लिडरहरुको अगाडि साह्रै सानो लाग्ने ठाउँमा पनि पुग्दोरहेछ। र लिडरहरु त्यो भन्दा पनि धेरै माथि हुने पनि ठाउँ आउँदो रहेछ। हामी विश्वमा त्यस्ता धेरै देख्छौँ। एउटा वैचारिक अथोरिटी भयो र पार्टीले त्यसखालको वातावरण बनायो भने अध्यक्ष पद मेरा निम्ति महत्वपूर्ण छैन।

पत्याउन त गाह्रो हुन्छ नि मान्छेहरुलाई। तपाईँहरुले हामी गान्धी हुने मण्डेला हुने भनेकै हो। त्यसपछि सत्ताको संघर्ष गरेकै हो। त्यसो हुनाले अब फेरि पत्याउन अलि गाह्रै पर्ला नि।

शान्तिप्रक्रिया र संविधान नर्माण प्रक्रिया दुईटा यस्ता प्रक्रिया नेपालमा पछिल्लो चरणमा अगाडि आयो नि, यी दुइटै प्रक्रिया सम्पन्न नहुन्जेलसम्म हामीले चाहेर पनि मण्डेला हुने, गान्धी हुने स्थिति हुँदैनथ्यो। हामी त्यहाँ मुछिनै पर्थ्यो तर मैले यसो भन्दै गर्दा मैले अब छोडि नै हाल्छु भनेको पनि होइन।

मैले बाबुरामजीको प्रसंग उठाइहालेँ। बाबुरामजीले संविधान घोषणा हुने दिन प्रष्ट शब्दमा के भने भने, अब म सत्ताको खेलमा लाग्दिन, अब म नयाँ शक्तिको गठनमा लाग्छु। तपाईँलाई पार्टी छोड्ने कुनै संकेत दिएका छन् उनले?

त्यस्तो त हाम्रो कुराकानी भएको छैन। उहाँले धेरै पहिलादेखि नयाँ शक्तिको कुरा गरिरहनुभएकै छ। अब पार्टी नै  छोड्ने, सत्ताको खेलमा नलाग्ने भन्ने बाबुरामजीको मैले जे बुझेँ ३० वर्षदेखि बाबुरामजीसँग भनेको २०४१ सालदेखि हामी सँगै छौँ…

तपाईँ त्यतिबेला संविधानसभाको विरोध गर्नुहुन्थ्यो रे।

उहाँको मनस्थिति अहिले के भएको हो, मसँग त केही कुरा पनि भएको छैन यो विषयमा। म संविधानसभाको विरोधी होइन, संविधानसभा परिवर्तनकारी कि संविधानसभा यथास्थितिवादी? संविधानसभा भनेरमात्र हुँदैन भन्ने मेरो बुझाइ थियो। त्यो बुझाइ मलाई लाग्छ अहिले पनि सही हो।

अरु विषयमा पनि निकै आलोचनात्मक रुपमा प्रस्तुत हुनुभयो, त्यो पनि संविधान आउने दिन।

अब यो चाहिँ स्वभाविक देखिँदैन। मलाई लाग्छ बाबुरामजी जस्तो एउटा हाइटको नेताले संविधान घोषणा गर्ने बेलामा, उहाँलाई के भएको छ बसेर छलफल गर्न पाएका छैनौँ। उहाँको हाइटको नेताले त्यस्तो लेख्नु, बोल्नु, या यस्तो आचरण गर्नु, मलाई लाग्दैन स्वभाविक छ।

छोडेर जान खोजेर हो कि?

त्यो कुरा त आउने दिनले प्रष्ट पार्ला। तर म के कुरा प्रष्ट पार्न चाहन्छु भने बाबुरामजी छोडेर कहीँ गएर बाबुरामजीको भलो हुँदैन। यो राष्ट्रको पनि भलो हुँदैन। हाम्रो पार्टीको पनि भलो हुँदैन। बाबुरामजीमा केही विशेषता छन्, तर फेरि म असाध्यै नजिक बसेको हुनाले बाबुरामजी धेरै जटिल मान्छेको नाम पनि हो बाबुराम, जसलाई मैले ३० वर्षदेखि झेलेको छु। अर्को कोही मेरोजति नजिक बसेर एक वर्ष बसेको हेर्न मन छ मलाई।

आजको खुसियाली सभामा पनि बाबुरामजी उपस्थित हुनुभएन।

हुनुभएन। यहाँ हुनुपर्थ्यो। मैले त नारायणकाजी पनि आउनुभएन क्यारे भन्ने सोचेको थिएँ, उहाँ आउनुभएको रहेछ। अर्को दीर्घामा बस्नुभएको रहेछ।

तपाईँले आज खुसियाली सभामा भारतलाई तिमीहरुले हामीलाई सम्मान गर, हाम्रो स्वतन्त्रता सम्मान गर, अनि हामी तिमीहरुको सम्मान गर्छौँ भनेर भन्नुभयो। अस्ति प्रधानमन्त्री मोदीको विशेष दूत आएर तपाईँलाई भेट्दाखेरी तपाईँले के भन्नुभयो उनलाई?

दिल्ली जाँदाखेरी मैले त्यहाँका सबै नेताहरुसँग र प्रधानमन्त्री मोदीसँग पनि यो कुरा भनेको थिएँ- हामी असल मित्र हुन चाहन्छौँ, तर तपाईँहरुले हामीलाई ‘एस म्यान’ बनाउन चाहनुभयो भने सरी, यो सकिँदैन, हामीलाई हाम्रै राष्ट्रको माया हुन्छ, तपाईँहरुलाई तपाईँकै राष्ट्रको बढी माया हुन्छ। अब मित्रले तपाईँको कन्सर्नलाई सम्मान गर्न सक्छ, एस म्यानले कहिल्यै पनि तपाईँको कन्सर्नलाई सम्बोधन गर्न सक्दैन। यो मैले खुलेर भनेको कुरा हो।

अनि अस्ति मोदीको दूत आउँदाखेरी के भन्नुभयो?

उहाँ निकै नै कडा रुपमा प्रस्तुत हुनुभएको थियो। कडा भनेको तपाईँहरुले सबैलाई समेटेर संविधान घोषणा गर्नुभएन भने हामी समर्थन गर्दैनौँ, गर्न सक्दैनौँ, हामीले समर्थन नगरेपछि अरु दुनियाले गरेर अर्थ हुँदैन। मैले के भनेँ भने, तपाईँले गम्भीर कुरा भन्नुभयो। यस्तो गम्भीर कुरा भन्न यात तपाईँ १५ दिन अगाडि आउनुपर्थ्यो या १५ दिन पछि आएर भन्नुपर्थ्यो। अहिले आएको समयचाहिँ त्यति मिलेको लागेन भनेर प्रष्ट भनेको थिएँ। मैले अरु प्रतिवाद धेरै गरिनँ।

तपाईँले कुटनीतिमा सम्मानको कुरा गर्नुभयो। तर तपाईँले भारतीय दूतलाई भेट्दा परराष्ट्रको प्रतिनिधि राख्नुभयो?

त्यस्तो त यहाँ कसैले भनेन पनि, म, पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हुनुहुन्थ्यो तर परराष्ट्रको राख्ने भन्ने त हामीकहाँ झण्डै झण्डै त्यो परम्परा नै नभएको जस्तो भाछ।

तर तपाईँ प्रधानमन्त्री भैसकेको मान्छे, तपाईँलाई थाहा हुनुपर्ने हो नि, कुटनीतिमा यसरी कनै विदेशी दूतसँग भेट्दा वा कुनै नेतासँग भेट्दा परराष्ट्रको पहिला ब्रिफिङ लिनुपर्छ अनि परराष्ट्रको कयौँ ठाउँमा प्रतिनिधि राख्नुपर्छ।

तपाईँको कुरा बिलकुल सही हो। अब संविधानसभाबाट संविधान घोषणा भएको नयाँ प्रक्रिया सुरु भएको सन्दर्भमा यो कोड अफ कन्डक्ट पालना हुनुपर्छ भन्ने म ठान्छु।

तर अहिले नै एउटा दूतलाई भेट्दाखेरी भूतपूर्व प्रधानमन्त्रीले कुटनीतिक मर्यादा पूर्ण रुपमा पालन नगरेको, भनाइको मतलब, तपाईँको सम्मान के हो भन्ने कुरा, तपाईँको डिग्निटीको कुरा तपाईँ आफैले कायम नगरेको परिस्थितिमा भोलि तपाईँहरुले त्यो मर्यादा कायम गर्नुहोला, तपाईँहरुले एक अर्काको स्वतन्त्रताको सम्मान गर्नुहोला भनेर कसरी अपेक्षा गर्ने?

अब मैले भनिहालेँ, हामी एउटा युगबाट अर्को युगमा गएका छौँ। र हामीले हाम्रो परम्परा, प्रचलनलाई बदल्नै पर्छ। हामीले एकअर्काको सम्मान गर्ने पद्दति बसाल्नै पर्छ। तराईमा निकै ठाउँहरुमा निकै विरोध भैराखेको छ, तराई केन्द्रित दलका नेताहरुले यो संविधान कतिपयले त जलाउन पनि थालिसके। यो स्थितिमा भारतको पनि सहयोग नहुने स्थिति देखियो। कसरी ह्यान्डिल गर्नुहुन्छ? मैले आज पनि सम्बोधन गर्ने क्रममा पनि भनेँ, तराईमा थारुहरुको या आदिवासी जनजातिको असन्तुष्टि संविधानले दिएको छ। र हामी राजनीतिक दलहरुले एउटा राजनीतिक प्रतिबद्धताको रुपमा पनि त्यसलाई स्पष्ट रुपमा सम्बोधन गर्ने संकल्प पनि गरेका छौँ। अहिले मधेसकेन्द्रित दलका केही साथीहरुले जे भन्नुभएको छ, हाम्रो यो पूरा भएन, त्यो पूरा भएन, त्यो मात्र पूरा नहुने होइन, प्राप्त भएका सबै उपलब्धि पनि गुम्न सक्ने खतरा जुन पैदा भएको कुरामा उहाँहरुसँग पनि मैले पटकपटक कुरा गरेको थिएँ। साँचो कुरा भनौँ, मधेसकेन्द्रित दलका नेता साथीहरुसँग कोठामा एक्लै बसेर कुरा गर्दा त उहाँहरुले ‘बढ्नोस् तपाईँहरु, बनाउनुस् संविधान, हामीलाई त अप्ठ्यारो छ अहिले, जे बनाए पनि हामी समर्थन गर्न सक्दैनौँ, हामीले समर्थन गर्‍यौँ भने हाम्रो स्पेस घट्छ, त्यहाँ विभिन्न शक्ति छन्, असाध्यै एक्स्ट्रिममा गएर बोल्ने मान्छेहरु छन्, अब हामीले पनि फ्याट्ट तपाईँहरुले जस्तो गर्‍यो भने अप्ठ्यारो हुन्छ, त्यसोभएर तपाईँहरु संविधान बनाउनुस्, हाम्रो अलिअलि आलोचना रहन्छ, अन्ततः ठिकै हुन्छ’ भन्ने साथीहरु पनि हुनुहुन्छ।

उपेन्द्र यादव, राजेन्द्र महतोजस्ता नेताहरुले पनि त्यसो भने?

अब त्यो नाम म भन्न चाहन्न। त्यहाँ भन्दा म्याचुअर्ड नेताहरुले पनि भन्नुहुन्छ हामीलाई। त्यति भनेपछि तपाईँले बुझ्नुहुन्छ। नाम लिइदिनुभयो भने अप्ठ्यारो हुन्छ नि। उहाँहरुको कुरा के छ भने त्यहाँ अर्का एकथरी एक्स्ट्रिमिस्ट खालका छन् नि, अलग्गै बनाउनुपर्छ भन्ने खालको कुरा गर्ने पनि छन्, अब त्यहाँ भ्रम पर्ला भनेर उहाँहरु आफ्नो पोलिटिकल स्पेसको निम्ति, अहिले समर्थन गर्न गाह्रो परेको कुरा मैले पनि बुझेको कुरा हो।

तराईमा पहिला पहिला धेरैले यो कुरा गर्दैनथे, आजकल बिस्तारै कुरा हुन थालेको छ। निरन्तरको अस्थिरता र कसैकसैले अझ विखण्डनको कुरा पनि गरिरहेका छन्। त्यो खतरा देख्नुभएको छ?

म दुई तीनवटा प्वाइन्टमा भन्न चाहन्छु। पक्कै पनि एकथरी तत्वहरु तर तिनीहरुको कुनै मधेसी जनतामा त्यस्तो प्रभाव पनि छैन, उनीहरु कहीँ न कहीँ तराईलाई विखण्डन गराउनेसम्मका कुरा गरेर हिँडेका छन्। दोस्रो कुरा, मलाई मधेसी जनता विखण्डनको पक्षमा छैनन् भन्ने कुरामा गहिरोगरी विश्वस्त छु। मधेसी जनता २००७/८ सालदेखि थुप्रै क्रान्तिकारी खालका किसान संघर्षहरु, वर्ग संघर्षहरु गरेका जनता हुन्। नेपाल राष्ट्रप्रतिको देशभक्ति, नेपाल प्रतिको निष्ठा मधेसी जनताको धेरै माथि छ दसकौँदेखि। त्यसकारण मेधसी जनतामा त्यो विखण्डनको कुनै प्रभाव पर्छ, साथ दिन्छन् भन्ने मलाई विलकुल लाग्दैन। त्यसकारण मैले के भनेँ भने विखण्डनको कुरा गर्नेहरु मेधसी जनताको निम्ति आत्मघातीहरु हुन् तिनीहरु, तिनीहरु राष्ट्रघाती पनि हुन्।

भारतले समस्या सिर्जना गर्दिने खतरा देख्नुभएको छ कि छैन सीमावर्ती क्षेत्रमा? किनभने जुन किसिमको चिसो प्रतिक्रिया दिइराखेको छ, त्यसबाट समस्या होला कि नहोला?

अब म अलिकित चिन्तित छु त्यहाँनेर। मैले नेपाली जनतालाई बडो गम्भीर र जिम्मेवारीपूर्वक भन्नुपर्छ भन्ने मलाई लाग्छ। अलिकति चिन्तित त्यहाँनेर छु म। अस्ति विदेश सचिव जयशंकर आउँदा, एउटा विषय, खुला बोर्डर भएको हुनाले भारतलाई अप्ठ्यारो छ। बोर्डरमा गतिविधि भयो, त्यहाँ हिंसा भयो, त्यहाँ गतिविधि भयो भने त्यसको असर युपी, बिहारमा पर्छ। त्यसकारण हामी, भारतले चासो लिनुपर्छ भनेर उहाँले अलि बढी त्यसमा फोकस गरिरहनुभयो- खुला बोर्डर खुला बोर्डर भनेर। मैले एउटा शब्द भनेको थिएँ। तपाईँले बोर्डरको कुरा अलि बढी त गर्नुभयो, त्यसको त एउटा कारण होला तर बोर्डर होइन ब्रोडर नेपालसँगको सम्बन्धलाई बढी हेर्नु उचित होल। वृहत नेपालको हित र वृहत नेपालको सम्बन्धलाई कसरी राम्रो बनाउने भन्ने कुराले दुबै देशको हितलाई त्यसले बढी प्रतिनिधित्व गर्ला भनेर पनि मैले भनेँ। त्यसो भएर पनि आज बिहान मात्र मैले थाहा पाएँ कि भारतीय राजदूत फेरि अपर्झट दिल्ली जाँदै हुनुहुन्छ रे भन्ने थाहा पाएपछि, तपाईँ दिल्ली जाँदै हुनुहुन्छ रे, म एकछिन तपाईँसँग कुरा गर्न चाहन्छु भनेपछि उहाँ यहाँ आउनुभयो। मैले भनेँ कि ‘अब मधेसमा जो समस्या भएको छ, हामी वार्तामा ल्याउन तयार छौँ। तर त्यसमा भारतले पनि सद्भाव राख्दिन पर्‍यो। यो मेरो कुरा मोदीजीलाई पनि, किनभने मोदीजीले बोलाएर उहाँ जाँदै हुनुहुन्छ भने, प्रधानमन्त्री मोदीलाई पनि मेरो यो भनाई छ, अब वार्ताद्वारा मधेसको र थारुको या तराईको समस्या समाधान गर्न केन्द्रित हुने अब छिटोभन्दा छिटो भनेँ मैले।

के भने भारतीय राजदूतले?

उहाँले हुन्छ, म यो कुरा भन्छु भन्नसभयो।

प्रचण्डजी अब अन्त्यमा, देशको मूल दस्तावेज, परिवर्तन भयो। देशको आन्तरिक नक्सा परिवर्तन भयो, तपाईँहरु जस्ता नेताको राजनीतिक संस्कार परिवर्तन हुने कहिले?

मलाई लाग्छ मानिसहरु कोही कमीकमजोरी बिहीन प्रकृतिले कसैलाई जन्माएको छैन। मानिस सीमा र कमजोरी सहित नै आउँछ र उसले अनुभवबाट, सीमा र कमजोरीबाट शिक्षा लिएर अगाडि बढ्ने प्रयत्न गर्छ कि गर्दैन, सबैभन्दा ठूलो कुरा त्यही हो। असल मानिस भनेको त्यसैलाई भनिन्छ।

तपाईँहरुको वा नेपाली राजनीतिको प्रमुख समस्या भनेको पद्दतीलाई नमान्ने, बेलाबेलामा नेताहरुले कोठे बैठक गर्ने, पद्दतीभित्रबाट हुनुपर्ने काम पद्दति बाहिरैबाट हुने, नेताहरुकै इमान्दारितामा पनि धेरै प्रश्न उठ्ने र पारदर्शितामा पनि प्रश्न उठ्ने। यस्ता महत्वपूर्ण पक्षहरुमा तपाईँहरुको चरित्रमा परिवर्तन आएन भने भोलि देश कसरी परिवर्तन हुने?

पहिलो कुरा तपाईँको कुरामा मेरो समर्थन छ। एउटा सिद्धान्तको विषयमा म भन्छु। हामी कम्युनिस्टहरुको एउटा गल्ती, ठूलो गल्ती के रहेछ भने हामीले विचार नै पार्टी हो भन्छौँ क्या। आइडियोलोजिकल एन्ड पोलिटिकल लाइन डिसाइड्स एभ्रिथिङ भनेर यति कण्ठ पारिएको हुन्छ कि, कार्यकर्तालाई सिकाइएको हुन्छ कि- आइडियोलोजी र पोलिटिक्स भएपछि अरु जे गरे पनि हुन्छ भन्ने कम्युनिस्टहरुको अलि बढी स्कुलिङ। यता केही समयदेखि यस्मा मेरो दिमागमा प्रश्न उठेको छ, गलत छ। त्यसैकारण भएको के छ भने सिस्टम भत्किएको छ कम्युनिस्टहरुको। उनीहरु आइडियोलोजी र पोलिटिक्सलाई यति धेरै महत्व दिइयो, सिस्टम केही पनि होइन भन्नेतिर गयो र त्यहाँ कहीँ न कहीँ अराजकताले जन्म लियो। त्यसकारण पपो पार्टी भनेको विचारमात्र होइन, विधि हो, प्रक्रिया हो, सिस्टम हो। विधि र प्रक्रियाको महत्वलाई धेरै घटाउने र विचारलाई अनावश्यक ग्लोरिफाइ गर्नाले चीनमा, रुसमा, पूर्वी युरोपमा जुन ठूलाठूला प्रतिक्रान्ति भए, त्यसको पछाडिको एउटा आधारभूत कारण सिद्धान्त र व्यवहार बिचको अन्तरविरोध, सिद्धान्त भएपछि व्यवहार जस्तो भए पनि हुन्छ जस्तो गर्ने प्रणाली भयो। म यसलाई करेक्सन गर्नुपर्छ भन्नेमा छु।

भनेपछि अब एकीकृत माओवादीमा प्रचण्डले विधि, प्रक्रिया, पारदर्शिताको पक्षमा पनि नेतृत्व गरेको नेपाली जनताले हेर्न पाउँछन्?

पक्कै पनि। मेरो अब अभियान यो संविधान पछि मैले भनेको छु साथीहरुलाई अब हामी पद्दती र विधितिर जानुपर्‍यो नत्र पार्टी चलाउन सकिँदैन।

साभार : बीबीसी नेपाली सेवा 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार